‘धेरै दुःख र कष्टका साथ न्याय निरुपण गरिरहेका छौं’ - Crazysaptahik.com

‘धेरै दुःख र कष्टका साथ न्याय निरुपण गरिरहेका छौं’

– यमुना विष्ट वास्तोला, उपमेयर
पथरीशनिश्चरे नगरपालिका

पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख यमुना विष्ट वास्तोला मिजासिलो तथा हक्की स्वभावकी हुनुहुन्छ । न्यायिक समितिकी संयोजक रहेर कार्य–सम्पादन गरिसक्नुभएकी बास्तोलाले मोरङ जिल्लाभरि १७ वटा स्थानीय तहमा सवैभन्दा बढी न्याय दिलाइसक्नु भएको छ । न्याय सम्पादनमा सिपालु, धैयर्तापूर्वक निर्णयहरु गर्ने वास्तोला २ वर्षको स्थानीय तहमा बसेर जनताका कामलाई प्राथमिकतामा राखेर कार्य सम्पादनमा अहोरात्र खटिरहनुभएको छ । २ वर्षको अवधिमा पथरीशनिश्चरे नगरपालिकामा के–कस्ता जनतामुखी कार्य भए र जनतासँग गरेका वाचालाई पूरा गर्नुभएको छ, छैन त्यही सन्दर्भमा उद्घोष दैनिकले तयार पारेको अन्तर्वार्ता  : –

यो दुई वर्षको अवधिलाई आफैले मूल्याङ्कन गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
– यो दुई वर्षको अवधिमा सिक्ने अवसर पाएको छु । देश संघीयतामा गइसकेपछि पहिलो संवैधानिक उपप्रमुख बन्ने अवसर प्राप्त भएको छ । यसमा धेरै चुनौती हुँदाहुँदै पनि धेरै सिक्ने अवसर पाइरहेको छु । जनताको नजिकमा वसेर काम गर्ने सौभाग्य जुरेको छ । जसबाट म आफूलाई भाग्यमानी ठान्दछु ।

सामाजिक सुरक्षाका विषयमा तपाईको नगरपालिकाले के–कस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ ?
– सामाजिक सुरक्षाका विषयमा सकेसम्म सुरक्षा प्रदान गरिरहेका छौं । तर, पनि यदाकदा घटनाहरु नघटेका होइन तर हाम्रै नगरभित्र मात्रै यस्ता घटनाहरु घटे । यस्ता घटनाहरुको नराम्रो समाचार फैलाइरहेको छ । वास्तवमा, यस्तो होइन अरुतिर पनि यस्तै प्रकृतिका घटनाहरु घटिरहेका छन् ।

प्रदेशदेखि स्थानीय तहसम्म कर्मचारी अभाव छ, भनिन्छ तपाईको नगरपालिकामा कस्तो अवस्था छ ?
– हाम्रो नगरपालिकामा कर्मचारीहरुको न्यून अभाव छ । त्यसमा पनि दक्ष जनशक्तिको अभावै रहेको छ ।

न्यायिक समितिको संयोजकको हैसियतमा तपाईले न्यायिक काम कारवाही कसरी सम्पादन गरिरहनुभएको छ ?
– न्यायिक समितिको संयोजकको हैसियतले धेरै दुःख र कष्टका साथ न्याय निरुपण गरिरहेका छौं । भवन छैन, कर्मचारी छैनन् त्यति हुँदाहुँदै पनि हाम्रो न्यायिक समिति मार्फत् करिब ५ सय भन्दा बढी मेलमिलापका आधारमा मुद्दा मिलाइरहेका छौं ।

के–कस्ता प्रकृतिका मुद्धा तथा समस्याहरु तपाईको न्यायिक समितिमा आउने गरेको छ ?
– हाम्रो नगरपालिकाको न्यायिक समितिमा बिशेषगरी श्रीमान–श्रीमतीमा झैझगडा, बाटो मिचेको, जग्गा–जमिन सिमाना मिचेको, लेनदेनको वैदेशिक रोजगारीमा महिलाहरुलाई ठगेको जस्ता प्रकृतिका धेरै मुद्दाहरु आउँछन् ।

तपाईको नगरपालिकामा कस्ता प्रकारका सामाजिक कुरीतिहरु छन् ?
– अहिले खासै नराम्रा कुरीतिहरु यस नगरपालिकामा आएका छैन । कहिलेकाहीँ तल्लो भेगतिर पथरीशनिश्चरे– ५ (हसन्दह) उराव मधेशी समुदायमा जुन साना बालविवाह गरेर दिने १५÷१६ वर्षमा विवाह गरेर उनीहरुमा बीचमा हाम्रो कुरीति र संस्कार यस्तै हो भन्ने गरेको पाइएको छ ।

 

तपाईको नगरपालिकामा महिलाहरुको अवस्था कस्तो छ ? उनीहरुले सशक्तीकरणका लागि के कार्यक्रमहरु गर्नुभएको छ ?
– संविधानमा महिलाहरुलाई प्रशस्तै हक अधिकार दिए पनि हाम्रो समाजमा हजारौं वर्षदेखि पुरुषको पितृसत्तात्मक कारण एकलौटी शासन गरेको छ । यहाँ महिलाहरुलाई संविधानले हेर्ने नजर दोस्रो नै जस्तो बनेको छ । यहाँ देखावटी मात्र हुन्छ । विभिन्न नेतृत्व तालिम, सीपमूलक कार्यक्रमहरु ल्याइरहेका छौं । जस्तै : अचार बनाउने सीपमूलक कार्यक्रम ल्याएका छौं । निम्न वर्गका र लक्षित वर्गलाई ध्यानमा राखेर पढ्न सहज होस् भनेर साइकल वितरण कार्यक्रम पनि ल्याएका छौं । त्यसैगरी कारितास नेपालसँग समन्वय गरी सेनेटरी प्याडको व्यवस्था ३ वटा सामूदायिक विद्यालयमा मिलाएका छौं ।

मुद्दाको आदेश फैसला कार्यान्वयन पक्ष कस्तो छ ?
– हामीलाई १३ प्रकारका मुद्दाहरु फैसला गर्न अधिकार छ । तर, हामीले हाम्रो न्यायिक समिति मार्फत् सकेसम्म मेलमिलापका आधारमा सवै मुद्दा मिलाएका छौं । विभिन्न प्रकारका सीपमूलक कार्यक्रम ल्याइरहेका छौं । ताकि महिलाहरुको जीवनस्तर उठोस् ।

न्यायिक समितिको कामबाट पीडितहरु क्तिको सन्तुष्ट छन् ?
– सबै सन्तुष्ट छन् । पहुच विनाको मान्छे निम्न वर्गका मान्छे आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरु जहाँ अदालत जान नसक्ने अवस्थामा छन् वहाँहरुलाई हामी प्रत्यक्ष नजिकबाटै चिनेका हुन्छौँ, जानेका छौं, हामीलाई प्रत्यक्ष थाहा छ, हामी सत्य तथ्य खोजेर जो अन्यायमा परेका छन् उसलाई न्याय दिलाउँछौं ।

नगरपालिकाका तर्फबाट के–कस्ता कानूनहरु बनाउनुभएको छ ?
– हामीले यस्ता खासै कानून बनाउन सकेका छैनौं, बनाउने क्रममा छौं । किनकि संघ र प्रदेशसँग कानून नबाझियोस् भनेर त्यसमा संघ कानून बन्दैछ । त्यसकारण संघ÷प्रदेशको कानून नजुध्ने हिसाबले बनाउने तयारीमा छांै ।

बजार अनुगमनको जिम्मेवारी कसरी निर्वाह गरिरहनुभएको छ ?
– हामीले बजार अनुगमन बेला–बेलामा गरिरहेका छौं । जति अनुगमन गर्नुपर्ने हो त्यति गरेका छैनौ । यसमा हाम्रो कर्मचारीहरु व्यवस्थापनको अभाव छ ।

सार्वजनिक कार्यक्रममा कतिको ब्यस्त हुनुपर्दछ ? जसका कारण कार्यालयमा बसेर गर्नुपर्ने काममा बाधा पुगेको महसुस गर्नुभएको छ कि छैन ?
– सार्वजनिक कार्यक्रममा हामी ब्यस्त हुनैपर्छ । त्यसमा किनभने हामी जनप्रतिनिधि हौं । जनताले रुचाएर हामीलाई पठाएका छन् । हामी जनताका सार्वजतिक कार्यक्रममा बोलाउनुहुन्छ हामी जानैपर्छ । यसमा अलि–अलि बाधा त हुन्छ नै तर पनि हामी समय व्यवस्थापन गरेर जान्छौं ।

सम्बन्धित खवर