तपाईं कलात्मक फिल्ममा रुचि राख्नुहुन्छ भने ‘हल्कारा’ यस वर्षको प्रतीक्षित फिल्ममध्ये पर्न सक्छ । वैशाख २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको लेखन तथा निर्देशन विक्रम सापकोटाले गरेका हुन् ।
प्रदर्शन मिति नजिकिंदै जाँदा फिल्म रिलिजको लागि निर्देशक सापकोटा अमेरिकाबाट नेपाल आइपुगेका छन् ।ट्रेलरबाटै राम्रो समीक्षा प्राप्त गरेको यो फिल्मले केही अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कार जितेको छ ।एउटा हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको फिल्मले वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गर्छ ।
महेश त्रिपाठी र विनिता थापामगरको शीर्ष भूमिका रहेको फिल्मको छायांकन, ध्वनि र अभिनयको प्रशंसा भइरहेको छ । विदेशी फिल्म क्रिटिक्स र दर्शकले पनि नेपाली अर्गानिक र कलात्मक भन्दै यसको प्रशंसा गरेका छन् ।
हल्कारा के हो ?
‘हल्कारा’ फिल्मको मेरुदण्ड वैदेशिक रोजगारी नै हो । तर यो कथाको एउटा मात्र पक्ष हो । यसमा गाउँघरमा हुने अन्य कामकुरा पनि राखिएको छ । यसमा धेरै लेयर छन् । एउटा चाहिं बदलिंदो समयको कथा हो ।
जसरी प्रविधिले समाज परिवर्तन गरिराखेको छ । देशविदेशमा हातले लेखेर पठाइने चिठीको अझै पनि महत्व छ । नेपालमा कानुनी र कार्यालयका कामबाहेक चिठीपत्र आदानप्रदान हामीले गरिंदैन । अर्को चाहिं धैर्य र आशा ।
कथाको अर्को महत्वपूर्ण पाटो भनेको मियाको पात्रले चित्रण गरेको धैर्य र आशा । गाउँघरमा हुने मानसिक स्वास्थ्यको बारेमा पनि केही पक्ष कथामा छन् । हाम्रो उद्देश्य सिनेम्याटिक अनुभव ग्रहण गर्ने हो ।
ध्वनि र दृश्यले सिर्जना गर्ने पाटो, लार्जर द्यान लाइफ घटनाको प्रस्तुतीकरण, यो सबैले दर्शकलाई अनौठो किसिमको हेराइ अनुभव दिन्छ । पछिल्लो समय आएका केही फिल्ममा यो पक्ष मिसिङ जस्तो देखिन्थ्यो । यी कुरा जोडेर हल्कारा तयार पारेका हौं ।
संगीत, क्यामेरा, अभिनयको हिसाबजस्ता स्तम्भमा हल्कारा अडिएको छ । विदेशमा देखाउँदा पनि दर्शकले यसलाई मेनस्ट्रिम फिल्मको रुपमा ग्रहण गरे ।
हल्कारालाई यो समयमा बनाउनुको समय र सन्दर्भ केही छ ?
यो मेरो पहिलो फिल्म हो । मसँग अरु फिल्म पनि छन् । तर मैले हल्काराको कथा किन उठाएँ भन्दा यो समय सान्दर्भिक भएर हो । विशेषगरी सन् २०२२ को फिफा विश्वकप कतारमा भएकाले अरुभन्दा यो कथासँग दर्शक जोडिन सक्छन् भन्ने लाग्यो । जल्दोबल्दो विषय हो अहिलेको ।
बीसौं वर्षदेखि लाहुर जाने, ब्रिटिस आर्मीमा भर्ती हुने चलन रह्यो । विदेश जानु भनेको अहिलेको कथा होइन । ब्रिटिश आर्मीमा गएर गोर्खालीले एक स्थान त पाएका छन् तर मध्यपूर्वमा गएका नेपालीले चाहिं त्यो पहिचान पाएका छैनन् ।
उनीहरुले सम्मान भन्दा शोषण पाए । त्यतिबेला ८०० जना मरेको रेकर्ड थियो । अहिले बढेको छ । समय सान्दर्भिक भएर यो स्टोरी उठाएको हुँ । यो फिल्म हेरेर संवाद सुरु हुन्छ र सम्बन्धित निकायले चासो लियो भने हामी सफल हुन्छौं जस्तो लाग्छ ।
फिल्ममा ‘मास’ दर्शकलाई पनि अपील गर्न सक्ने तत्व के छन् ?
फिल्मले दर्शकलाई धेरै कुरा गर्न सक्छ । हरेक फिल्मको उद्देश्य आफ्नो हुन्छ । छुटाउनै नमिल्ने र सबै फिल्ममा हुने तत्व भनेको मनोरञ्जन नै हो । हाम्रो फिल्म चाहिं गहन विषयमा बनेपनि मनोरञ्जक र इन्गेजिङ छ ।
पात्रसँग बाँधिन सक्छन् । बलियो तर्क भनेको यही कारण यो फिल्म मेनस्ट्रिम फिल्म हो । मलाई सबै किसिमको जनरा मन पर्छ । दर्शकले हामीबाट जस्तो किसिमको अपेक्षा राखेका हुन्छन् । त्यो अपेक्षालाई पूरा गर्नुपयो ।
मनोरञ्जन मात्र गराउँदा या त त्यो हलसम्म मात्र सीमित रहन्छ । यदि तपाईंले कलात्मक रुपमा मान्छेलाई मुभ गर्न सक्नुभयो भने दर्शकको मनमस्तिष्कमा रहन्छ । जुनसुकै जनरामा फिल्म बनाएपनि दर्शकको मनोरञ्जनको रुचिलाई प्राथमिकतामा राख्न चाहन्छु ।
सरकारले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भनिरहन्छ । कसरी फिल्मको अन्तर्राष्ट्रियकरण हुन्छ ?
अन्तर्राष्ट्रियकरण गर्न सबैभन्दा सुरुमा फिल्मको व्याकरण सुधार्नुपर्छ । जुन हिसाबले नेपालमा जति नम्बरमा फिल्म बन्छन्, एकदमै कमर्सियल भएर फर्मुलामा फिल्म बनाउनुभएन । दर्शकदेखि समीक्षकसम्म यति लामो समय एक खालको शिक्षा उनीहरुमा छ ।
फिल्म राम्रो नराम्रो छुट्याउन सक्ने त्यो क्षमता उनीहरुमा छ । कथा कागजमा राम्रो हुन्छ तर फिल्ममा उतार्दा व्याकरण नमिल्दा स्वीकार्य हुँदैन । सुरुवाती पाँच मिनेट हेर्दा नै यो व्यावसायिक मान्छेले बनाएको र लगनशीलले बनाएको हो कि होइन भने थाहा हुन्छ । कविता, कथा लेख्दा व्याकरण मिलेर कथा लेखिन्न ।
कथामा जतिसुकै भाव भएपनि पढ्ने बेलामा साना गल्ती छन् भने कसैले गम्भीर रुपमा लिंदैन । हाम्रो फिल्म उद्योगको मुख्य समस्या नै त्यही हो जस्तो लाग्छ । हामीले पहिला व्याकरण मिलाउनुप¥यो, त्यसपछि दर्शकले गम्भीर रुपमा लिन्छन् ।
यसो हुनुमा लगानीकर्ताको सोचमै समस्या भएको हो कि ?
फिल्ममेकिङमा एउटा सिर्जनात्मक र अर्को बिजेसन पक्ष भए । दुईटै समान रुपमा बराबर हुन् । तर मुनाफाको लागि सिर्जनात्मक सम्झौता गर्नुभएन । क्रिएटिभ भनेर कुनै एउटा उद्देश्य नभइन पैसा खर्च गरेर मात्र पनि भएन ।
मुख्य चाहिं फर्मुलाले गरेर फिल्म उद्योगले धक्का खाएजस्तो लाग्छ । नेपालमा ६–७ भागसम्म सिक्वेल बनिरहेका छन् । बन्ने क्रम अझै छ । फ्रेन्चाइजी भनेकै सूत्र हो । यसले मान्छेलाई मनोरञ्जन दिन्छ र मनोरञ्जन भयो भने चाहिं आफ्नो रिटर्न पाइन्छ ।
त्यो भन्दा बाहिर त्यति धेरै व्यापार गरेका फिल्म निर्माताको पनि उद्योगप्रति दायित्व हुन्छ । सिक्वेलमा नजाऊँ तर नयाँ आइडिया लिएर त्यो बाहेक अरु पनि छ भन्ने कुरामा जोड दिनुपर्छ । फर्मुलाले गर्दा लगानीकर्ता लगानी गर्न तयार हुन्छन् ।
यो निकै सुरक्षित तरिका भयो । जोखिम लिएर प्रयास गरौं । राम्रो प्रस्तुतीकरण र दर्शकको अपेक्षालाई पूरा गर्नेतर्फ ध्यान दिऔं । पैसा मात्र कमाउने भयो भने फिल्म उद्योगलाई अघि बढ्न कठिन हुन्छ ।