किन डेंगु यति भयानक हुँदैछ ? - Crazysaptahik.com

किन डेंगु यति भयानक हुँदैछ ?


श्रृजना जि.सी. खरेल

अचम्म लाग्छ, लामखुट्टेले अहिलेसम्म ५४ अर्ब मानिसलाई मारिसकेछ । दुई लाख बर्षभन्दा बढीको इतिहासको हिसाब (किताब हो यो । न्युयोर्क टाइम्समा प्रकाशित एक आलेखमा यस्तै तथ्य उल्लेख छ ।

हिजोका दिनमा लामखुट्टे हाम्रो निम्ति ठूलो स्वास्थ्य चुनौती थियो । आज पनि त्यो यथावत छ । हामी लामुखुट्टेको आतंकबाट अझै सुरक्षित छैनौं । नभए त अहिले डेंगुले यति भयानक आतंक मच्याउने नै थिएन ।

डेंगु एक संक्रमित रोग हो जो लामखुट्टेको टोकाइबाट सर्छ । अन्य बेला पनि हामीलाई लामखुट्टेले त त टोकिरहेकै हुन्छ । सामान्यत लामखुट्टेले टोक्दा एकछिन चिलाउने मात्र हो, त्यस्तो असर र्पुयाउँदैन । तर, केही प्रजातिका लामखुट्टे भने घातक हुन्छ । त्यस्ता लामखुट्टेको टोकाइले अस्पतालमै र्पुयाइदिन्छ । कतिपयले त लामखुट्टेको टोकाइबाट ज्यान गुमाउँछन् । यस्तै घातक हुन्छ डेंगु संक्रमित लामखुट्टे पनि ।

डेंगु खासगरी एडिज प्रजातिका लामखुट्टेबाट सर्ने भय हुन्छ । डेंगुबाट बच्ने सबैभन्दा प्रभावकारी तरिका भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । अतः यसअघि उक्त लामखुट्टेबारे केही जान्न आवश्यक छ ।

यो लामखुट्टेले राती भन्दा पनि दिनको उज्यालोमा टोक्ने गर्छ । जबकी धेरैजसो अवस्थामा लामखुट्टेले टोक्ने भनेको रातको समयमा हो । त्यसैले हामी लामखुट्टेबाट बच्न धुप बाल्ने, झुल लगाउने गर्छौं । यद्यपि एडिज प्रजातिको लामखुट्टे भने दिउँसो सक्रिय हुन्छ । लामखुट्टेको आवाज सानो हुन्छ, झट्ट हेर्दा सजिलै देखिदैन । रगत चुसेर गएपनि यसलाई मार्दा रगत देखिदैन । बरु टोकेको ठाउँमा चिलाउन थाल्छ । त्यहाँ बिबिरा देखापर्छ । एडिज प्रजातिको यही लामखुट्टे हो, जसले डेंगुको भाइरस सार्छ ।

यसपाली एडिज प्रजातिको लामखुट्टेले सर्वत्र आतंक मच्याएको छ । काठमाडौं र चितवनमा यसको बढी नै असर देखिएको छ । साउन १ देखि भदौ २४ गतेसम्मको तथ्यांकले देखाउँछ, लामखुट्टेको टोकाइबाट ६ जनाले ज्यान गुमाइसके । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभरमा ५ हजार बढी डेंगुका संक्रमित छन् ।

डेंगु नियन्त्रणका लागि अहिले विभिन्न पहल पनि भइरहेको छ । यद्यपि डेंगुबाट हामी अझैपनि सुरक्षित भइसकेका छैनौं । त्यसैले डेंगुबारे केही सर्तकता अपनाउनुपर्ने अवस्था छ । यदि डेंगुको संक्रमण भइहालेमा त्यसको संकेत कसरी पाउने ? संभावित जटिलताबाट कसरी बच्ने ?

लामखुट्टेको टोकाइबाट बच्नका लागि

लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि लामखुट्टेको नियन्त्रण आवश्यक छ ।
– पुरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।
– लामखुट्टेको टोकाइबाट बच्ने महल्म पनि पाइन्छ, त्यस किसिमको महल्म पनि प्रयोग गर्न सकिन्छ ।
– झ्याल र ढोकामा जाली लगाउनुपर्छ ।
– राती झुलभित्र सुत्नु बढी सुरक्षित हुन्छ ।
लामखुट्टे फैलन नदिनका लागि

लामखुट्टे फैलने ठाउँहरु जस्तै जमेको पानी, फोहोर आदि राख्नुहुँदैन । घर आसपासमा पानी जम्ने खाल्डो छ भने पुर्नुपर्छ । पानी जम्न दिनु हुँदैन । पानीको ट्यांकी, दहीको कतारो, बाल्टिन, ड्रम आदिमा बिक्रो लगाउनुपर्छ ।

त्यती मात्र होइन, चिया पिउने कप, बोत्तल आदिमा थोरै पानी जमेको छ भने त्यहाँ पनि अन्डा पार्ने भएकाले त्यसलाई उचित तरिकाले राख्नुपर्छ, ताकि त्यहाँ पानी जम्न नपायोस् ।

घरआँगन सफा राख्ने । पानी जम्ने खाल्डा पुर्ने । बरण्डा, छत आदिमा पनि पानी जम्ने गर्छ । कतिपय भाँडावर्तन बाहिर राखिने र त्यहाँ पनि पानी जम्ने भएकाले ति सबैमा पानी जम्न दिन हुँदैन ।

डेंगुको संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा अन्डा पार्नेगर्छ । त्यसैले सफा पानी पनि एउटै भाँडोमा खुला नराख्ने, लामो समय नराख्ने ।

फूलको गमला लगायतमा समेत पानी जम्न नदिने । वाथरुम, कमोड बराबर फ्लश गर्ने । कुनैपनि स्थानमा खानेपानीको पाइप चुहिने र पानी जम्ने भइरहेको छ भने त्यसको मर्मत गर्ने ।

डेंगु लागेको कसरी थाहा पाउने ?

असावधानीवस् लामखुट्टेले टोकेर डेंगु सरेमा के गर्ने ? सर्तकता अपनाउँदा अपनाउँदै पनि लामुखट्टेले टोेकेमा के गर्ने ? खासमा त यसको लक्षण हेरेर त्यही अनुसार उपचार अपनाउनुपर्छ । यसर्थ डेंगुको लक्षण के हो ? बुझ्न जरुरी छ ।

डेंगु संक्रिमत लामखुट्टेले टोकेको छ भने त्यसको सबैभन्दा पहिलो लक्षण हो, ज्वरो । अचानक ३ देखि ५ दिनसम्म ज्वरो आउँछ । यो निकै उच्च ज्वरो हुन्छ । ज्वरो पाँचदेखि सातदिनसम्म रहन सक्छ ।
– टाउको दुख्छ ।
– आँखाको गेडी दुख्छ ।
– शरीरमा डाबर आउँछ ।
– खाना खान मन लाग्दैन ।
– पेट तथा आन्द्रामा गडबडी हुन्छ ।

कतिपय अवस्थामा चाहि सुरुमै शरीरभरी खटिरा देखापर्छ । त्यस्तै शरीरमा डन्डिफोर जस्तै डाबर देखापर्छ । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुन्छ । गोरो वर्णको मान्छेमा डाबर देखिएपनि कालो वर्णको मान्छेमा त्यस्तो नदेखिन सक्छ ।

अब के गर्ने त ?
डेंगु ज्वरो भाइरसको कारणले हुने भएकाले विशेष किसिमको कुनै उपचार छैन । डेंगु बिरुद्धको कुनै खोप छैन । तर, यसको संक्रमण भइसकेपछि लक्षण हेरेर सोही अनुसार उपचार गरिन्छ । सुरुमा त ज्वरो घटाउनुपर्छ । यसका लागि सिटामोल दिन सकिन्छ ।

पर्याप्त मात्रामा झोल पदार्थ दिन सकिन्छ । यद्यपि घरमै राखेर उपचार गर्नु उचित हुँदैन । तुरुन्तै चिकित्सककहाँ र्पुयाउनुपर्छ ।

–अनलाइनखबर

सम्बन्धित खवर