दही र मोही कत्तिको खानुहुन्छ, ? दही र मोही खानुको फाईदा यस्तो, - Crazysaptahik.com

दही र मोही कत्तिको खानुहुन्छ, ? दही र मोही खानुको फाईदा यस्तो,

 

  • ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो, त्यसैले सबैले शेयर गर्नुहोला !

मोहीले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ । आयुर्वेदको एउटा ग्रन्थमा लेखिएको छ, ‘नियमित मोही सेवन गर्ने व्यक्ति रोगी हुँदैन ।’ स्वादको हिसाबले मात्र नभई दहीमोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिन्छन् ।

दूधबाट दही बन्दा विषेश प्रकारको किटाणु पैदा हुन्छ । यसले हाम्रो स्वास्थ्यकालागि सकारात्मक काम गर्छ । बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाको हाडकालागि नभइ नहुने क्याल्सियम दहीमा पाइन्छ । हाडकालागि क्याल्सियमको निकै ठूलो महत्व छ ।

विशेषगरी उमेर बढदै जाँदा हाडको घनत्व कम हुदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ । महिलाको महिनावारी बन्द भएको बेला यो समस्या निकै देखिन्छ । क्यालसियमका लागि दही निकै राम्रो स्रोत हो ।

दूध खान मन नलाग्ने, दूध नपच्ने वयस्क वा बच्चाहरुकालागि दही एउटा उत्तम बिकल्प हो । कतिपय व्यक्तिलाई एन्टिबायोटिकको प्रयोग गर्दा पखाला लाग्ने गर्छ । यसबाट बच्न दहीको प्रयोग अत्यन्तै लाभदायक हुन्छ ।

दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ । अनुसन्धानहरुले के पनि देखाएका छन् भने दहीमा रहेका लाभदायक किटाणुले क्यान्सर उत्पन्न गर्ने किटाणुको सक्रियता घटाउँछन् । यसले आन्द्रामा हुने क्यान्सर कम गर्न मद्दत गर्छ ।

मध्य एसियाली देशहरु काजाकस्तान, उज्वेकिस्तान तथा युरोपेली देश बुल्गेरियाका बासिन्दाहरु दैनिक भोजनमा दही बढी नै प्रयोग गर्ने भएकाले स्वस्थ हुन्छन् भन्ने अध्ययनले देखाएको छ । सन् २००० को डिसेम्बरमा बंगलादेशको राजधानी ढाकामा सम्पन्न स्वास्थ्यसम्बन्धी एउटा सम्मेलनमा विश्व प्रसिद्ध किताब डाक्टर नभएमा लेखक डा. डेभिड बर्नरले बच्चालाई पखाला लाग्दा दिइने अत्यन्त राम्रो औषधि दही र भात हो भनेर भनेका थिए ।

कब्जियत आजको आधुनिक समाजमा ठूलो समस्याको रुपमा देखापरेको छ । कब्जियतले शरीरका विभिन्न भागमा समस्या निम्त्याउँछ । कब्जियतको समस्याबाट बच्न हरेक उमेरका व्यक्तिले मोही र दहीको प्रयोग गरेमा यो समस्या स्वतः समाधान हुन्छ । दही र केरा मिसाएर खाएमा कुपोषित व्यक्ति, गर्भवती महिला, दूध खुवाउने महिला र लामो बिरामीबाट भर्खर उठेका व्यक्ति सबैलाई अत्यन्तै जरुरी हुन्छ ।

नेवार समुदायमा भोज खानेबेलामा सम्पुर्ण भोजन सिद्धिसकेपछि अन्त्यमा दही र मूला दिने चलन छ । यो परम्परालाई निकै वैज्ञानिक मान्नुपर्ने हुन्छ । दहीलाई एउटा सम्पुर्ण भोजन पनि मानिन्छ, जसले शरीरलाई पुष्ट राख्छ र विभिन्न समस्याको समाधान पनि गर्छ । भारतका कतिपय ठाँउहरुमा छाला राम्रो बनाउन दही, बेसन र बेसार मिसाएर लगाउने चलन छ । यसले छालालाई नरम र चिल्लो बनाँउछ भन्ने मान्यता छ । घरेलु औषधिका रुपमा दहीलाई कपालको चाया हटाउनकालागि पनि प्रयोग गरिन्छ । दही र कागतीको मिश्रण बनाएर दुई घण्टापछि कपालमा लगाउनाले चायाको प्रकोप कम हुनुका साथै कपाल चम्किलो पनि हुन्छ भन्ने अनुभव धेरैले बटुलेका छन् ।
-डा अरुणा उप्रेती

जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ ।

सम्बन्धित खवर