क्रेजी साप्ताहिक
विराटनगर । विश्वभर फैलिएको ‘कोरोना भाइरस’ महामारीको असर नियन्त्रण गर्न नेपाल सरकारले ‘लकडाउन’ गरेको छ । यो अवस्थामा कोही पनि सर्वसाधारणले घर बाहिर निस्कनै मिल्दैन ।
तर मोरङको सीमावर्ती क्षेत्रमा भने भारतको जोगवनी लगायतका बजारबाट हुने तस्करी धन्दा मौलाएको छ । विराटनगर महानगरपालिका–१७ इश्लामपुर, रघुपति टोल, लाइन क्वार्टर, मटेर्वा, बुधनगर लगायतका दर्जनौ स्थाना तस्करी गर्ने नाका बनेका छन् । हुलका हुल साइकलमा र पैदल नै जोगवनी पुगेर बोरा र झोलामा सामान बोकेर फर्किने समूह अहिले सक्रिय रहेको सीमा क्षेत्रका बासिन्दाको भनाइ छ ।
लर्को लागेरै सामान लिन जोगवनीसम्म जाने समूहलाई रोक्न सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी असफल बनेका छन् । कोरोना संक्रमण फैलन नदिन घरबाट निस्कन र हिँडडुल गर्न पूरै प्रतिबन्ध लगाइएको समयमा पनि सीमावर्ती क्षेत्रबाट दैनिक सयौंको संख्यामा जोगवनी आउजाउ भइरहेको छ ।
कोरोना संक्रमण दर उच्च भएको भारतले पनि त्यत्तिकै कडाई गरेको छ । तर ‘लकडाउन’ को उल्लंघन गरेर सुरक्षाकर्मीलाई छल्दै भारतीय बजार जोगवनी जाने र सामान लिएर आउनेहरुको संख्या भने दिन प्रतिदिन बढिरहेको स्थानीयको भनाइ छ । जसका कारण सीमा क्षेत्रका बासिन्दा त्रसित र आतंकित बनेका छन् ।
विराटनगर–१७ का स्थानीय शिक्षक भोजकुमार श्रेष्ठ बाहिर निस्कनै नमिल्ने र कोरोना संक्रमणबाट बच्न घर भित्रै बस्नु पर्ने अवस्थामा नेपाल–भारत आवतजावत कम हुन नसकेको गुनासो गर्छन् । ‘सीमा क्षेत्रमा सुरक्षाकर्मीको कम उपस्थिति र कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै निर्वाध रुपमा हुलका हुल जोगवनी गएर सामान लिएर आउँछन्,’ उनले भने, ‘स्थानीय सरकार र प्रशासनसँग यस बारेमा जानकारी गराइए पनि आउजाउ नियन्त्रणमा चासो नदिएको पाइयो ।’
श्रेष्ठले कोरोनालाई लिएर नेपाल र भारत सरकारले कडाई गरे पनि ‘सेटिङ’मा सामान वारपार गर्ने क्रम नरोकिएको बताए । नेपालमा तस्करी धन्दा चलाउनेहरुले जोगवनीका व्यापरीसँग ‘सेटिङ’ मिलाएर सामान नेपाल भित्राउने गरेको उनको भनाइ छ । ‘लकडाउन’ को अवस्थामा पनि पारी (जोगवनी) जाने, सामान किनेर तस्करी गर्दै ल्याउने र वारी ल्याएर बेच्ने गिरोह सक्रिय रहेको स्थानीयको भनाइ छ ।
श्रेष्ठले दुईतीन दिनदेखि यो क्रमले तीव्रता पाएको जानकारी दिए । नेपाली सुरक्षाकर्मी र भारतीय भूमिमा परिचालित सीमा सुरक्षा वल (एसएसवी) ले कडाई गरिरहे पनि खुल्ला सीमानाका कारण आउजाउ पूर्ण रुपमा नियन्त्रण सम्भव नभएको बताइएको छ । कतिपय नाकामा सुरक्षाकर्मी नै निस्कृय भए जस्तो देखिने श्रेष्ठले बताए । श्रेष्ठका अनुसार नेपालबाट जानेहरुले जोगवनी पुगेर चामल, दाल, तेल, मसला लगायत दैनिक उपभोग्य वस्तु तस्करी गर्दै ल्याएर नेपालमा महँगोमा बेच्ने गरेको सुनाए ।
स्थानीय ट्यांकर चालक भानु अधिकारी सीमा क्षेत्रमा ‘लकडाउन’ उल्लंघन गर्दै तस्करी धन्दा चलाउनेको संख्या ठूलो रहेको सुनाउँछन् । ‘लस्करै भारत जान्छन् । न त मास्क लगाउँछन् न त दूरी नै कायम गरेको हुन्छ,’ उनले भने, ‘त्यसै पनि भारतमा संक्रमण दर उच्च भएर स्थिति भयावह बनेको छ । जसका कारण नेपालमा पनि उतैबाट रोग भित्रने सम्भावना बढेको छ ।’
सामान तस्करी गर्ने क्रममा भारतीय नागरिकसँगको सम्पर्क र भेटघाटका कारण सीमा क्षेत्रमा जोखिम बढेको अधिकारीले बताए । ‘तस्करी गरेर पैसा कमाउने लोभमा लापरबाहीपूर्ण तरिकाले आउजाउ र भारतीय नागरिकसँग भेटघाट गरेर फर्कदा कोरोना उतैबाट भित्रने त्रास बढेको छ,’ उनले भने, ‘यो क्रमलाई रोक्न सबै पक्षलाई आग्रह गरिए पनि आउजाउ रोक्ने प्रयास सफल हुन सकेको छैन ।’ उनकाअनुसार संक्रमणबाट बच्न घरबाटै निस्कन नहुने अवस्थालाई सर्वसाधारण आफैले बुझ्नु पर्ने भए पनि ‘लकडाउन’लाई तस्करी गर्ने र कमाउने अवसरमा रुपमा लिएको पाइयो ।
शिक्षक श्रेष्ठले कुनै वैकल्पिक व्यवस्था बिनानै गरिएको ‘लकडाउन’ का कारण दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेपछि कतिपय सर्वसाधारण आफ्नै प्रयोजनका लागि लुकिछिपी भए पनि सामान खरिद गर्न जोगवनी जानै पर्ने बाध्यतामा रहेको बताए । ‘खाद्यान्नको व्यवस्थापन नगरिँदा तस्करी मौलाएको छ । भारतबाट हुने तस्करीले संक्रमण जोखिम धेरै बढेर गयो,’ उनले भने, ‘यसमा स्थानीय सरकारले पनि ध्यान दिएन । सीमा क्षेत्रमा सबै त्रसित र भयवित भएर बस्नु पर्ने अवस्था छ ।’
उनकाअनुसार भारतीयहरु नेपाल नआए पनि नेपालीहरु नै सामान लिन उतै जाने गरेका हुन् । अहिले व्यापारका नाममा कालोबजारी र तस्करी गर्नेहरु सक्रिय रहेको गुनासो सीमा क्षेत्रका बासिन्दाको छ । श्रेष्ठले स्थानीयले बारम्बार विरोध गरिरहे पनि नेपाल–भारत आउजाउन शून्यमा झार्न नसकिएको गुनासो गरे । ‘लकडाउन’ मात्रै गर्ने र वैकल्पिक व्यवस्था नगर्ने सरकारको कदम उचित नभएको उनको भनाइ छ ।
वडा अध्यक्ष समीम कमरले घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिए पनि कोही कसैले वास्ता नगरेको बताए । ‘जनप्रतिनिधि, नेपाल र सशस्त्र प्रहरीले रोक्ने प्रयास गरिरहे पनि लुकिछिपी छलेर गइहाल्छन्,’ उनले भने, ‘खुल्ला सीमा भएका ठाउँमा सुरक्षाकर्मी पर्याप्त नहुँदा पनि आउजाउ शून्यमा झार्न सकिएको छैन ।’ कमरले तस्करी धन्दा चलाउनेहरु यो बेला बढी सक्रिय भएकाले सीमा क्षेत्रमा संक्रमण जोखिम उच्च रहेको बताए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ‘लकडाउन’ मा पनि बजार र सीमा क्षेत्रमा चहलपहल नरोकिनु दुर्भाग्यपूर्ण भएको बताए । ‘नियमको अवज्ञा सर्वसाधारणले गरेको देखिन्छ,’ उनले भने, ‘अझ ठूलो समस्या त भारतीय बजार आउजाउ नरोकिनुले निम्त्याएको छ ।’ जसका कारण प्रदेश १ को राजधानी कोरोनाको उच्च जोखिममा रहेको पराजुलीको बुझाइ छ । ‘लकडाउन’लाई उल्लंघन गर्ने क्रम नरोकिएकाले ‘स्वास्थ्य संकट’ घोषणा गरेर सेना परिचालन गर्न आवश्यक रहेको कुरा सरकारलाई लेखेरै पठाइसकिएको जानकारी पराजुलीले दिए । मानिसहरुलाई घर मै बसाउन सफल भएमा कोरोना नियन्त्रण पनि सफल हुने उनको बुझाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नेपाल–भारत आउजाउमा सशस्त्र प्रहरीसँग समन्वय गरेर कडाई गरिए पनि शून्यमा झार्न नसक्नुमा मानिस सचेत नभएको प्रष्ट हुने बताए । ‘सबैतिर भयावह अवस्था छ । यो बेला एकअर्कासँग भेटघाट नगरिकन मान्छे सचेत भएर घरमै बस्नु पर्ने हो,’ उनले भने, ‘तर बुझेर पनि नबुझे जस्तो गरेको पाइयो । प्रहरी पुग्दा भागे जस्तो गरे पनि फेरी जम्मा भएर आउजाउ गरिहाल्छन् ।’ खुल्ला सीमाना कारण सीमा क्षेत्रमा संक्रमण जोखिम धेरै रहने भएकाले थप कडाई गर्ने तयारी थालिएको उनको भनाइ छ ।
एसपी अधिकारीले हिँडडुल गर्ने र सवारी साधन कुदाउनेलाई पनि अब पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने जानकारी दिए । ‘लकडाउन’ यता मोरङ प्रहरीले नियम उल्लंघन गर्ने मोटरसाइकल, सिटी सफारी, टेम्पो, साइकल लगायत गरेर तीन सय बढी साधन नियन्त्रणमा लिएको जानकारी उनले दिए ।
–पूर्वेलीन्यूजबाट