प्रहरीको आँखा छल्दै लगाइन्छ हटिया, बढ्यो कोरोनाको जोखिम - Crazysaptahik.com

प्रहरीको आँखा छल्दै लगाइन्छ हटिया, बढ्यो कोरोनाको जोखिम

क्रेजी साप्ताहिक
विराटनगर । कोरोना भाइरसले विश्वमा महामारीको रुप लिइरहेका बेला नियन्त्रण र रोकथाम गर्न तथा नेपालमा संक्रमण फैलन नदिन नेपाल सरकारले ‘लकडाउन’ गरेको छ ।

कोरोना संक्रमण नफैलियोस भनेर घर बाहिर ननिस्कन, भीडभाडमा नजान, ‘होम क्वारेन्टाइन’मा बस्न, भेलाजम्मा नहुन, आपतकालिन अवस्थामा काहीँ जान परेमा दूरी कायम गर्न, बाहिरबाट आएपछि साबुन पानीले राम्ररी हात धुन, मास्क र स्यानीटाइजर प्रयोग गर्न सरकारले आग्रह गरेको छ । मुलुक संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । ‘लकडाउन’ गरेको दुई साता वितिसक्दा नागरिक स्तरबाट पालना र उल्लंघनका घटना पनि उत्तिकै भएका छन् ।

तर ठाउँठाउँमा साप्ताहिक रुपमा लाग्ने गरेका हटियालाई भने रोक्न नसक्नु दुःखद् भएको विराटनगरका सुरेन्द्र पौडेलले बताए । ‘विराटनगर महानरपालिका र प्रहरीले ठाउँ–ठाउँमा लाग्ने हटिया लाग्नबाट रोक लगाउने प्रयास गरे पनि लुकिछिपी प्रहरीको आँखा छल्दै अर्को ठाउँमा लगाहाल्छन्,’ उनले भने, ‘किनमेल गर्न जानेको भीड पनि उत्तिकै हुन्छ ।’ विराटनगरका गुद्री लगायतका बजार र पसलहरुमा किनमेल गर्न जानेको भीड ठूलै हुने उनको भनाइ छ । दिनभर सर्वसाधारण घरमै बस्ने र साँझका समयमा भने हुल बाँधेरै एकअर्कामा हेलमेल गर्दै निस्कने प्रचलन नरोकिँदा कोरोनाको जोखिम धेरै रहेको पौडेलको भनाइ छ ।

उनले साँझका समयमा भित्री सडक र चौकहरुमा अनआवश्यक रुपमा सर्वसाधारणको ठूलो हुल जम्मा हुने, एकअर्कामा हेलमेल गर्ने, भेलाजम्मा भएर गफगाफ गर्ने, एकै पटक ठूलो संख्यामा हिँडडुल गर्ने, एकअर्कामा भेटघाट गर्ने, सामूहिक रुपमा किनमेल गर्न बजार जाने, धेरै मानिसहरु जम्मा भएर साप्ताहिक हटिया लगाउने क्रम जारी रहेको जानकारी दिए । साप्ताहिक हटियामा रोक लगाइरहँदा केही मानिस भेला पार्दै प्रदेश १ की प्रदेशसभा सदस्य विन्ध्या कार्कीले साप्ताहिक हटिया लाग्न दिनु पर्ने आवाज उठाएको कुरा निक्कै विवादित बनेको थियो ।

‘कोरोना त्रासले विश्वलाई असर गरिरहेका बेला सांसद जस्तो मान्छेले साप्ताहिक हटिया लाग्न दिनु पर्छ भन्नु गलत हो,’ पौडेलले भने, ‘भीडभाड हुनबाट रोक्नु पर्ने ठाउँमा सयौं मान्छेको जमघट हुने हटियाका पक्षमा वकालत गर्नु लज्जास्पद हो ।’ विशेष गरेर अतिआवश्यकीय सामान किनमेलका लागि समूहमै बजार जाने र भीडभाडमा पसेर किनमेल गरेर फर्कने चलन अझैसम्म पनि नहटेको उनको भनाइ छ ।

उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले दैनिक रुपमा भइरहेका गतिविधीका कारण कोरोनाको संक्रमणका बारेमा सर्वसाधारण नागरिकमा व्यक्तिगत हिसाबले पनि चेतना नआएको देखिने बताए । ‘राज्यले यत्रो आह्वान गरिरहँदा सबैले आफ्नै लागि हो भन्ने बुझेर ‘लकडाउन’ पालना गर्नु पर्ने हो । माहोल हेर्दा दिनभर कोरोना लाग्ने र साँझ यसको संक्रमण नफैलने जस्तो गरेर सर्वसाधारण बाहिर निस्कन्छन्,’ उनले भने, ‘तर राज्यले पनि नागरिकलाई उचित हिसाबले व्यवस्थापन गर्न सकेको छैन । घरबाटै बाहिर ननिस्कन आह्वान गरिरहँदा त्यही हिसाबको व्यवस्थापन पनि गर्नु पर्ने हो ।’

विशेष गरेर ज्याला मजदुरी र वनिबुतो गरेर खाने सर्वसाधारण ‘लकडाउन’को मारमा परेका छन् । ढुंगेलकाअनुसार सर्वसाधारण नागरिकले घरमा लामो समयसम्म पुग्ने खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको जोहो गर्न सक्ने अवस्था छैन । त्यही भएर पनि किनमेलका लागि साँझका समयमा बजारमा निस्कनै पर्ने र भीडभाडमा पुगेर किनमेल गर्नै पर्ने बाध्यता रहेको उनको भनाइ छ । बजारमा किनमेल गर्न जाँदा प्रायले मास्क प्रयोग गर्ने गरे पनि दूरी कायम गर्ने, स्यानीटाइजर, साबुन, पानी प्रयोग गर्ने लगायत सुरक्षात्मक उपाय नअपनाउने गरेको उनले बताए ।

‘राज्यले दिने सेवा सुविधा दिएको छैन । त्यही भएर किनमेलका लागि बाहिर जानै पर्ने बाध्यता सबैमा हुन्छ,’ ढुंगेलले भने, ‘बजारमा सामान किन्ने ठाउँमा भीडभाड हुन्छ नै । त्यो भीडभाडबाट कोरोनाको जोखिम धेरै छ ।’ उनले कतिपय जान्ने बुझ्नेहरुले कुनै आवश्यक काम नपरिकन कोरोना संक्रमणलाई सामान्य रुपमा लिएर ‘लकडाउन’को पालना नगर्ने गरेको बताए । कतिपयले बुझेर र कतिपयले नबुझेर तथा कतिपयले बाध्यताले उल्लंघन गर्ने गरेको ढुंगेलको भनाइ छ ।

कोशी अस्पतालका बरिष्ठ फिजिसियन डा. रोशन खड्काले सरकारले बेलैमै सावधानी अपनाउँदै गरेको ‘लकडाउन’को पालना गर्दै सुरक्षात्मक उपाय अपनाउन सबैले जरुरी रहेको बताए । खाद्यान्न, तरकारी लगायत अनिआवश्यकीय र दैनिक उपभोग्य वस्तुको किनमेल सावधानीपूर्वक गरिएन र भीडभाडमा गएर किनमेल गरियो भने कोरोनाको जोखिम धेरै हुने उनको भनाइ छ । डा. खड्काले एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडै सर्ने भएका कारण भीडभाडमा गएर किनमेल नगर्न र भेलाजम्मा नहुन सबैमा अह्वान गरे ।

‘कोरोना संक्रमणबाट मानविय क्षति हुन नदिन र यसको संक्रमण फैलन नदिन सबै भन्दा ठूलो औषधि भनेकै ‘लकडाउन’को पूर्ण रुपमा पालना गर्नु र भीडभाडमा नजानु हो,’ उनले भने, ‘विभिन्न मुलुकमा ‘लकडाउन’ उल्लंघन हुँदा ती मुलुकले ठूलो मानविय क्षति बेहोर्नु परिरहेको छ ।’ नेपालमा त्यो अवस्था आउन नदिन बेलैमा सबैले सावधानी अपनाउन र सरकारले गरेको आग्रह मान्न आवश्यक रहेको उनको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ‘लकडाउन’ उल्लंघन गर्नेमाथि निगरानी बढाएर नियन्त्रणमा लिने काम भइरहेको बताए । ‘नियमको पालना गर्नु पर्छ, नभए यसले भोलिका दिनमा ठूलै संकट निम्त्याउँदा भन्ने चेत सबैमा हुँदाहुँदै पनि पालना नगरेको पाइयो,’ उनले भने, ‘त्यही भएर सबै ठाउँमा निगरानी बढाएर कडाई गर्न थालिएको छ ।’

प्रहरीका तर्फबाट पनि कोरोना विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रमलाई जारी राखिएको एसपी अधिकारीले बताए । कोरोना एकबाट अर्कोमा सहजै सर्ने भएकाले दूरी कायम गर्ने र एकअर्कामा हेलमेल नगर्ने नै उत्तम उपाय हुने कुरालाई समेटेर सचेतनामुलक कार्यक्रम जारी राखिएको उनको भनाइ छ ।
–पूर्वेलीन्यूजबाट

सम्बन्धित खवर