विद्यार्थीको पठन संस्कृतिको विकास गरौ - Crazysaptahik.com

विद्यार्थीको पठन संस्कृतिको विकास गरौ


भूमिप्रसाद पाठक ।  विद्यालय शिक्षा, संस्कृति र सभ्यताको जग निर्माण गर्ने थलो हुन् । विद्यार्थीलाई नम्बर दिएर पास/फेलको ठत्पा (ट्याग) लगाउने अधिकारिक संस्थामात्रै होइनन् । दुर्भाग्यको कुरा के छ भने धेरै विद्यालय र शिक्षकले पास/फेलको अङ्कगणित भन्दा परको कुरा सोच्नै चाहेको देखिएन । तोकिएको पाठ्ययुस्तकका पाना–पानामा के–के छन् गायत्री मन्त्र जसरी घोक्नु /घोकाउनु र परीक्षामा जप गरेर राम्रो अङ्क ल्याउनुलाई नै सफलताको एकमात्र सूत्र मान्नेहरु धेरै छन् । पठन संस्कृतिको विकास या मानौ विद्यार्थी–विद्यार्थीलाई पाठ्यपुस्तक बाहेकका अन्य पुस्तक अध्ययन गर्न दिनाले हुने फाइदाबारे विद्यालय र शिक्षकहरु बेखबर छैनन् । तर त्यसतर्फ तिनीहरुको उदेकलाग्दो उदासीनता देखिन्छ । पठन संस्कृतिमा वाधा पुराउने विभिन्न तत्वहरु घर–घरमा व्याप्त छन् । अक्षर चिन्नुभन्दा अगाडि नै मोबाइल चिन्न थालेका आजका बच्चाबच्चीको पठनसंस्कृतिमा असर पु¥याउने खतरनाक बाधाहरु के के हुन् त ?

शिक्षक : पठन संस्कृतिबारे छलफल गर्ने सन्दर्भमा भेटिएका कतिपय शिक्षकका कुरा सुन्दा छक्क परिन्छ । उहाँहरुका भनाइ हुन्छन् : मैले त आफ्ना पाठयपुस्तक बाहेकका अरु किताब पढेकै छैन । नभएको समय खर्च गरी–गरी किन किताब पढ्नु ? कतिपय शिक्षकले त पाठ्यपुस्तक बाहिरका किताब पढ्दा विद्यार्थी बिग्रिन्छ भन्ने कुविचार बोकेको पनि पाइयो । शिक्षकले नपढ्नु जस्तो घातक शिक्षा क्षेत्रमा अरु कुनै छैन । त्यो भन्दा घातकचाहिँ विद्यार्थीलाई पढ्न उत्साहित नगर्नु हो । सरकारले वर्षेनी शिक्षक तालिममा खर्च गरेको ५० करोड रुपैया तबसम्म लगानी बन्न सक्दैन । जबसम्म तिनले पठन संस्कृतिको विकास गर्दैनन् । एउटा शिक्षकले सके वर्षमा २०, नसके कम्तीमा महिनामा एउटा राम्रो किताब मात्रै पढ्ने हो भने उसलाई तालिमको खासै आवश्यकता पर्दैन ।

विद्यालय : सहरी क्षेत्रका कतिपय विद्यालयले पठनसंस्कृतिका लागि कक्षाकोठा भित्र किताबी कुना/बुक कर्नर स्थापना जन्मदिनमा पुस्तक उपहार अभियान, पुस्तक समीक्षा लेखकसित साक्षात्कार रिडिङ क्लव स्थापना, पठन अनुभव साटासाट, पुस्तकका लागि चन्दा सङ्कलन तथा ग्रामीण स्थानका विद्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गरिरहेका छन् । तर हाम्रो वर्तमान सन्दर्भमा पठन संस्कृतिको बाधकका रुपमा विद्यालय पनि देखाउने थालेका छन् । कतिपय विद्यालयका प्रशासक नै पठन संस्कृतिले विद्यार्थीमा ल्याउने चामत्कारिक सुधारप्रति ध्यान दिदैनन् । कतिपयलाई अतिरिक्त पाठयपुस्तकको अध्ययनले नेपाली र अङग्रेजी भाषालाई मात्र सहयोग गर्ने हो भन्ने भ्रम रहेछ । कथा, कविता, जीवनी, विज्ञान, संस्कृति, भूगोल, इतिहासका पुस्तक अध्ययनले विद्यार्थीहरुमा व्यवहार, कुशल सीप, तर्क गर्ने क्षमता विकास र सिर्जनशीलता अभिवृद्दि हुन्छ भन्ने तथ्यलाई तिनले बेवास्ता गरिरहेका छन् । एक अध्ययन अनुसार धेरै पुस्तक पढ्ने बालबालिकामा अपराधिक मानसिकताको विकास हुन पाउँदैन । बालबालिकालाई असल बाटोमा लगाउने पहिलो साथी नै राम्रो पुस्तक हो ।

अभिभावक : अभिभावकहरु आफ्ना सन्तानलाई महँगो मोबाइल, लुगा, जुत्ता, घडी, खेलौना किन्दिन तयार हुन्छन, तर पुस्तक किन्दिन तयार हुदैन् । विद्यालयले पुस्तक किनाएर पठायो भने अतिरिक्त आर्थिक बोझ थोपरिदिएको भनेर गनगन गर्छन । जाँचमा नआउने कुरा किन पढ्नु भन्ने मान्यता धेरैले बोकेका हुन्छन् । हो, सबै किताब राम्रा हुँदैनन् ।  सबै खानेकुरा पनि राम्रा हुँदैनन् । मानिसको दिमागलाई आवश्यक पर्ने खुराकचाहिँ राम्रा किताबले परिपूर्ति गर्छन । यस्ता पुस्तक सम्पति र घरका गहना पनि हुन् । चौबिसै घण्टा मोबाइल र ग्याजेटमा टाँसिन खोज्ने बालबालिकालाई हातमा किताब थमाउने कोसिस गर्दा कल्याण हुन्छ । हालसालै सार्वजनिक एक तथ्याङ्कले भन्छ:–ग्याजेट प्रयोगकर्ताको सूचीमा नेपाल विश्वको सातौँ स्थानमा छ । यसले हामीलाई कता लाँदैछ ?

समाज : बिदाका बेला बालबालिकालाई सकेसम्म राम्रा किताब किन्ने वातावरण मिलाइदिनु सबैको कर्तव्य हो । यसमा विद्यालय, घरपरिवार र समाजको उत्तिकै भूमिका रहन्छ । बालपुस्तक बिक्री गरेर विदेशी प्रकाशनले नेपालबाट अरबौ रुपैया लाने गरेका छन् । गुणस्तरीय पुस्तकहरु मुलुकभित्र छापिएमा जतिपनि बिक्री हुन्छन् । गुणस्तरीय पुस्तक प्रकाशन गर्ने काम–व्यापारमा मात्रै नभएर मुलुकको सेवा पनि हो । नेपालमा लगभग ४० लाख विद्यार्थी छन् । तिनलाई अतिरिक्त पठनमा तान्न सकियो भने सबैको कल्याण हुनेछ । भौतिक संरचनाको विकाससँगै पठन–संस्कृतिको पनि विकास गर्नुपर्छ ।

(लेखक : पञ्चायत माविका अध्यापक हुन्)

सम्बन्धित खवर