- ईश्वर दुलाल
तीन वटा वडा मिलेर बनेको वडा हो मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ । यस वडाले शनिश्चरे गाविस खण्डको ६, पथरी खण्डको ३ र ४ वडा मिलेर वडा ७ नं. वडा बनेको हो । पथरी शनिश्चरे नगरपालिका भित्रको वडाहरुमा जस्तै यस वडामा तिव्र गतिमा विकास निर्माणका कार्यहरु भइरहेका छन् ।
यस वडाका वडाध्यक्ष कपिलमणि ढकाल हुन् । यस्तै सदस्यहरू मैनाकुमारी राई (लिम्बु), कुमारी सार्की, कासिहाङ राई, विरबहादुर पिठाकोटे रहेका छन् । दिन रात नभनी यस वडाका जनप्रतिनिहरु अहोरात्र आफ्नो कार्यमा खटिरहनुभएको छ ।
वडामा ७ हजार २ सय ६७ जनसंख्या रहेको छ । वडामा बाल कल्याण माध्यमिक विद्यालय, चन्द्र किरातेस्वर माध्यमिक विद्यालय, र दुर्गा माध्यमिक विद्यालय गरी तीन वटा सामुदायिक विद्यालयहरु रहेका छन् । वडाले सामुदायिक विद्यालयहरुमा क्रमागत रुपमा विकासका कार्यहरु गरिरहेको छ ।
पछिल्लो समय वडाले पथरी खोला जोड्ने २ वटा पुल निर्माण गरिसकेको छ । यस्तै वडाले स्वस्थ्य केन्द्र भवन, किर्तिपूर, लामाटोली र मायाँलु चौक गरी तीन वटा सामुदायिक भवन निर्माण गरिसकेको छ । यसैगरी वडाले बिष्णु चौक सडक खण्डमा २ वटा सडक कालो पत्रे सम्पन्न गरेको छ ।
यस वडाले सम्पन्न गरिसकेका विकास निर्माणका कार्य बाहेक भावी योजनाहरु पनि सक्रियताका साथ अघि बढाइरहेको छ । विष्णु चौक लामाटोली जोड्ने दुई वटा पुल निर्माणको लागि ठूलो योजना रहेको वडाध्यक्ष कपिलमणि ढकालले जानकारी दिनुभयो ।
यस वर्ष विगतमा कालोपत्र नभएका सडकहरुमा कालोपत्रे गर्ने र ग्राभेल नभएका बाटोहरुमा ग्राभेल गरी क्रमशः कालोपत्रे गर्दै जाने वडाले जानकारी गराएको छ ।
यस्तै बालबालिकाको हदमा वडाले कहिले विद्यालयका पेन्ट, सन्ट, स्वीटर, ब्यागहरु वितरण गर्दै आइरहेको छ । वडाले प्रत्येक वर्ष महिला, बालबालिका, जनजाति, अपाङ्ग लक्षित जस्ता कार्यहरु गर्दै आइरहेको छ ।
अन्य क्षेत्रलाई जस्तै कृषिलाई पनि वडाले विशेष महत्वका साथ हेरिरहेको छ । यहाँ अलिअघि कुनै फर्महरु थिएनन्, कृषिको क्षेत्रमा एकदमै न्यून नै थियो । यस वडामा अहिले लगभग सयको हाराहारीमा फर्महरु दर्ता भएका छन् । यस्तै वडाले पशु वीमाका लागि यस वर्षदेखि बजेट छुट्याएको छ । वडामा अझ कृषिमा प्रगति गराउने हेतुले जनप्रतिनिधहरुले अझ कृषि क्षेत्रलाई विशेष ध्यान दिएर अगाडि बढाउने योजना रहेको बताए ।
यसैगरी निम्न आयस्रोत भएका वडावासीहरुलाई निःशुल्क वीमाको व्यवस्था वडाले मिलाउने योजना पनि रहेको छ । करिब ३०÷३५ घरका व्यक्तिहरुलाई निःशुल्क वीमा गरिदिने वडाले जनाएको छ ।
वडाले यस वर्ष ४० घर परिवारलाई फुसको छाना हटाइ टिन प्रदान गर्ने योजना रहेको छ । यस वडामा मुख्य गरेर सुकुम्बासी समस्या रहेको छ । वि.सं. २०३५ सालदेखि सुकुम्बासी समस्या रहँदै आएको छ । यस समस्याको समाधान गर्न नगर र वडाका सबै जनप्रतिनिधि लागि परिरहेको अध्यक्ष कपिल मणि ढकालले बताउनुभयो ।
‘वडावासीलाई सुरक्षित राख्न जनप्रतिनिधहरू अहोरात्र खट्यौं’
वडाका भावी योजनाहरु के– के छन् ?
– वडाका २३ वटा योजनाहरु सञ्चालनमा छन् । यस वर्ष चल्ने योजनाहरु ठूला योजनाहरु सम्पन्न भएपछि साना योजनाहरु सम्पन्न गर्ने तरखरमा छौं ।
विकास निर्माणका कार्यहरु कसरी गरिरहनुभएको छ ?
– वडाले प्रायः योजनाहरु उपभोक्तालाई नै जिम्मा लगाएर गर्छाैं । त्यस्तै सहरी स्वास्थ्य केन्द्र र एउटा सामुदायिक भवन चाहिँ टेन्डर मार्फत् भयो । अरु सबै कामहरु उपभोक्ताले नै स्थानीय कामदार लगाएर सम्पन्न भइरहेका छन् ।
सुकुम्बासी समस्या बारे के भन्नुहुन्छ ?
– हाम्रो वडाको सबैभन्दा ठूलो समस्या भनेकै सुकुम्बासी समस्या हो । आयोगले चाँडै काम सम्पन्न गरिदिन्छ भन्ने आशमा छौं । हामी तिव्र रुपले यो समस्याका बारेमा लागिपरिहेका छौं ।
कोभिडले आक्रान्त पारिरहेको अवस्थामा वडाले कसरी काम गर्यो ?
– कोभिडले आक्रान्त पारिरहेको अवस्थामा हामीले निम्न वर्गको पहिचान गरी राहत वितरण गर्यो । कोही विरामी भए हामी जनप्रतिनिधिहरु घरैमा चिकित्सकहरुसँग गएर उपचारसँगै आश्वासन दिने कार्य गर्यो । यस्तै विरामी भए एम्बुलेन्स लिएर अस्पतालसम्म पुर्याउने काम गर्यो। वडावासीलाई सुरक्षित राख्न हामी जनप्रतिनिधहरु अहोरात्र खट्यौं ।
र अन्त्यमा … ?
– म सँग चित्त नबुझेको कुरा केही भए मलाई खबर गर्नुहोस् । म त्यो ठाउँमा पुगेर त्यो समस्याको निश्कर्ष निकाल्नेछु । र, अन्त्यमा सम्पूर्ण वडावासीहरुलाई धन्यवाद भन्न चाहन्छु ।
‘वडामा ५० बढी मुद्दाहरू मिलापत्रहरू भए’
– देवीप्रसाद भेट्वाल, संयोजक
न्यायिक समिति, पथरी शनिश्चरे वडा नं. ७
दैनिक कति वटा मुद्दाहरू आउने गरेका छन् ?
– दिनमा ४÷५ वटा मुद्दाहरु आइरहेका हुन्छन् ।
सबैभन्दा बढी कस्ता प्रकृतिका मुद्दाहरु आउने गरेका छन् ?
– कुटपिट, झै झगडा, सिमाना विवाद, बाबु छोरा, श्रीमान् श्रीमतीका मुद्दाहरु बढी आउने गरेका छन् ।
अहिलेसम्म कति वटा मुद्दाहरु मिलापत्र भए ?
– लगभग ५० वटा भन्दा बढी मुद्दाहरु मिलापत्रहरु भए ।
वडामा मिलापत्र नभएका मुद्दाहरु चाहि“ के गर्नुहुन्छ ?
– वडामा मिलापत्र गर्न सकिएन भने हामी सो मुद्दालाई नगरमा पठाउँछौं ।
– अनमोलमणि साप्ताहिकबाट