क्रेजी संवाददाता
विराटनगर । अवैध तरिकाले एउटा घरभित्र स्टोर (भण्डारण) गरिएको अवस्थामा ठूलो परिणामको नमुना औषधि आइतबार विराटनगरबाट बरामद गरिएको छ ।
फार्मेसीको अनुगमनमा निस्किएको प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ भट्टीमोडबाट ४६ काटुन नमुना औषधि (चिकित्सक सेम्पल) बरामद गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएका बेला अभाव हुनसक्ने औषधिको अवस्थाका बारेमा टोलीले अनुगमन थालेको थियो ।
त्यस क्रममा रवि रजकले आफ्नै घरमा स्टोर गरेर राखेको अवस्थामा ‘फिजिसियन सेम्पल’का रुपमा मात्रै प्रयोग गर्न मिल्ने नमुना औषधि बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार बरामद गरिएको ठूलो परिणामको औषधि नै नमुना रहेको र अवैध रूपले घरमा स्टोर गरेर राखेको पाइएको छ ।
भारी मात्रामा नमुना औषधि स्टोर गर्ने रविलाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको एसपी खड्काले बताए । विभागका अनुसार नमुना औषधि बिरामीलाई बिक्री गर्न पाइँदैन । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलका अनुसार आफ्नो नयाँ उत्पादनका बारेमा जानकारी दिन उत्पादक कम्पनीले बजार प्रतिनिधि (एमआर)मार्फत औषधिको नमुना चिकित्सकसम्म पु¥याउँछ । तर बिरामीलाई बिक्री गर्न नमिल्ने त्यही नमुना औषधि एउटा घरभित्र भण्डारण गरिएको अवस्थामा फेला परेको हो ।
कट्टेलका अनुसार एन्टिवायोटिक, कफ सिरफ, सेनिटाइजर, पेन किलर इन्जेक्सन लगायतका ४६ काटुन औषधि बरामद गरिएको छ । औषधि राख्नलाई प्रयोग गरिने सात काटुन खोल पनि बरामद भएको जानकारी कट्टेलले दिए । रविको घरनजिक उनका दाजु–भाउजू जितु रजक र शीतल पाण्डे (रजक)ले सञ्चालन गरिरहेको जितु मेडिको हल नामक औषधि पसल छ । भारतबाट अवैध रूपमा औषधि ल्याएर उक्त पसलबाट बिक्री वितरण हुने गरेको आरोप पनि छ । घरमा भण्डारण गरिएको नमुना औषधि उक्त पसलमा राखेर अनाधिकृत रूपमा बिक्री गर्ने गरिएको हुनसक्ने आशंका अनुगमन टोलीले गरेको छ ।
सो पसल औषधि व्यवस्था विभागमा प्रल्हादप्रसाद सिंखडाको नाममा दर्ता छ । तर एउटाको नाममा दर्ता भएको पसल अर्कैले सञ्चालन गरिरहेको र आधिकारिक व्यत्तिः बिनै औषधि बेच्ने गरेको पाइएपछि बन्द गर्दै औषधि बिक्री वितरणमा रोक लगाएर आधिकारिक कागजपत्रसहित पाँच दिनभित्रमा उपस्थित हुन निर्देशन दिइएको कट्टेलले बताए ।
उनका नमुना औषधि लेबल परिवर्तन गरेर झुक्याएर बिक्री गर्ने गरिएको हुनसक्ने आशंका छ । ‘बिरामीलाई बिक्री नै गर्न नपाइने नमुना औषधि भारी मात्रामा बरामद भएको छ । औषधि भण्डारणस्थलमा विभिन्न बैंकका एटीएम कार्ड र चेक पनि फेला परेका छन्,’ एसपी खड्काले भने, ‘विभिन्न बैंकका एक सय ६८ वटा एटीएम कार्ड र ७२ वटा चेक पनि बरामद भएको छ । त्यसपछि कारबाहीका लागि नमुना औषधि भण्डार गरिएको घरका मालिक रवि रजकलाई पक्राउ गरियो ।’ एसपी खड्काका अनुसार बरामद भएको औषधिको कुनै बिलविजक, रेकर्ड र खरिद गरेको स्रोत केही छैन । ‘नमुना औषधि भण्डारणको कुनै आधिकारिक विवरण भण्डारणकर्तासँग छैन,’ उनले भने, ‘आधिकारिकता र इजाजत बिना ठूलो परिणाममा नमुना औषधि भण्डारण गरिएको बारेमा औषधि व्यवस्था विभागसँग समन्वय गर्दै अनुसन्धान थालिएको छ ।’
विभागका प्रमुख कट्टेलका अनुसार उत्पादनका बारेमा चिकित्सकलाई जानकारी दिन प्रयोग गरिने नमुना औषधि कुनै पनि उत्पादक कम्पनीले स्टोर गर्ने गरी यति धेरै उपलब्ध गराउन सक्दैन । उक्त औषधि बिरामीलाई बिक्री गर्नु गैरकानुनी हो । उनका अनुसार नमुना औषधिको भण्डारण पनि अनाधिकृत ठाउँमा गरिएको छ । ‘व्यक्तिको घरमा नमुना औषधि भण्डारण गरिएको भए पनि त्यसको प्रक्रिया पूरा गरिएको छैन ।