महामारीको मार : अझै किन संघर्षरत छ बलिउड ? - Crazysaptahik.com

महामारीको मार : अझै किन संघर्षरत छ बलिउड ?

विश्वमै सबैभन्दा चलचित्र उत्पादन गर्ने बलिउड अझै पनि कोरोना महामारीको मारबाट ‘कमब्याक’ गर्न संघर्षरत छ । महामारीको असर कम भएसँगै सिनेमा हल भरिभराउ हुने अपेक्षा गरिए पनि दर्शकहरु खर्च गर्ने मामिलामा विवेकी बन्न थालेपछि निर्माताहरुले लाखौँ डलर नोक्सानी बेहोर्नुपरेको छ । सन् २०२२ को पहिलो हाफमा रिलिज भएका २० चलचित्रमध्ये १५ चलचित्र बक्स अफिसमा नराम्ररी असफल भए ।

जसमा भारतका सुपरस्टारहरु अभिनित चलचित्रहरु थिए । रणवीर सिंहको ८३ र जयेशभाइ जोरदार, अक्षयकुमारको सम्राट पृथ्वीराज र बच्चन पाण्डे र कंगना रनौटको धकाड असफल साबित भए । ‘यी चलचित्रहरुमा कम्तिमा ९ देखि १० करोड डलर गुमेको छ,’ चलचित्रको व्यापारका विज्ञ रहेका जोगिन्दर टुटेजाले भने, ‘स्याटेलाइट र डिजिटल राइट नभएको भए यो घटना झनै ठूलो हुने थियो ।’ यो वर्ष चलचित्रले सिनेमा हलबाट ४५ करोड करोड डलरभन्दा बढी नकमाउने टुटेजा बताउँछन् । सन् २०१९ मा हिन्दी चलचित्रले ५५ करोडभन्दा बढी आम्दानी गरेका थिए ।

किन चलचित्र असफल भइरहेका छन् ?

चलचित्रहरुले राम्रो कमाई नगर्नुमा चलचित्रको विषयवस्तु एउटा कारण हुनसक्छ । ‘यसअघि चलचित्रको विषयवस्तु राम्रो नभएपनि सुपरस्टारका फ्यानहरुका कारण कमाई राम्रै हुने गथ्र्यो । तर समयसँगै यो बदलिएको छ । मानिसहरुले चलचित्रको विषयवस्तुमा पनि ध्यान दिन थालेका छन्,’ इमके ग्लोबल फाइनान्सियल सर्भिसमा प्रकाशित एक रिपोर्टमा भनिएको छ ।

तर, कोभिड अघि राम्रो विषयवस्तु भएका मध्यम बजेटका चलचित्रहरुले पनि यतिबेला बक्स अफिसमा राम्रो प्रदर्शन गर्न नसकेकोमा निर्माताहरु आश्चर्यचकित बनेका छन् । ‘दर्शकलाई अब दुईवटै चाहिएको छ –राम्रो विषयवस्तु र ठूलो आकार,’ टी–सिरिजका प्रमुख भुषण कुमार भन्छन् । उनको कम्पनीले निर्माण गरेको हरर–कमेडी चलचित्र ‘भूल भूलैया–२’ सन् २०२२ को सबैभन्दा सफल चलचत्रि मध्ये एक बन्यो । तर, उनी पनि निर्माताहरु ‘के चल्छ, के चल्दैन’ भन्नेमा ठूलो द्वविधामा रहेको स्वीकार गर्छन् ।

दर्शकको फेरिँदो स्वाद सँगै उनीहरु सिनेमा हल र स्ट्रिमिङ प्लाटफर्ममा विभाजित बन्दा निर्माताहरुलाई कुनै चलचित्रलाई ‘हरियो झण्डा’ देखाउनु त्यति नै चुनौतिपूर्ण भएको छ । कोभिडको ढिलाई र प्रोटोकलले गर्दा चलचत्रिको बजेट समेत बढेकाले थप समस्या निम्त्याएको कुमार बताउँछन् । चलचित्रको बजेट बढेसँगै टिकटको मूल्य पनि बढेको छ भने चलचित्र घरको क्षमता घटेको छ ।

दक्षिण भारतीय सिनेमाले जोगाउँदै

बलिउडका चलचित्रहरु संघर्ष गरिरहँदा दक्षिण भारतका एक्सन चलचित्रहरु आरआरआर, केजीएफः च्याप्टर २ र पुष्पाले भने बक्स अफिसमा धमाल मच्चाए । ऐतिहासिक रुपमा दक्षिण भारतमा निर्माण भएका चलचित्रले अन्य क्षेत्रमा राम्रो प्रदर्शन गर्दै आएका थिए । तर, उनीहरुको डब गरिएको भर्सनले बलिउडका चलचित्रको तुलनामा हिन्दी क्षेत्रमा पनि राम्रो प्रदर्शन गरेका छन् ।

दक्षिणका ब्लकबस्टरको बलिउडभन्दा फरक मन्त्र रहेको छ – अद्भूत सेट, मुखमा झुण्डिने गीत र स्लोमोसन सिक्वेन्स । ‘यदि म सिनेमा हल जान्छु भने मलाई फरक अनुभूति चाहिन्छ, यो संसारभन्दा अलग, एउटा रोलरकोस्टर जस्तै,’ चलचित्र समीक्षक सुचित्रा त्यागी भन्छिन्, ‘महामारीमा मानिसहरु घर बसेका बेला यी दक्षिणका चलचित्रबारे थाहा पाए किनभने उनीहरुले हेर्ने हिन्दी फिल्महरु नै सकिएको थियो ।’

तर विज्ञहरु भने बलिउडको भाग्य बदल्न यो ट्रेन्डमा नै भर नपर्न चेतावनी दिन्छन् । ‘दक्षिण भारतीय चलचित्रले आफ्नो क्षेत्रभन्दा बाहिर राम्रो प्रदर्शन गरेको घटना छिटपुट मात्र छ,’ इमके ग्लोबलले आफ्नो रिपोर्टमा भनेको छ । यो वर्षको दोस्रो हाफमा दक्षिण भारतका चलचित्र रिलिज नहुने हुँदा बलिउडले स्थिति सुधार गर्न एक्लै संघर्ष गर्नुपर्ने देखिन्छ ।

अब के ?

बलिउडले अब बहुप्रतीक्षित चलचित्रहरु जस्तै फरेन्ट गम्पको रिमेक ‘लालसिंह चड्ढा’ र रणबीरको ‘शमशेरा’ जस्ता चलचित्रमा आशा राखेर बसेको छ । दोस्रो हाफमा अझै बढी चलचित्रहरु रिलिज हुने क्रममा रहेकाले बक्स अफिल कलेक्सन अझै बढ्ने अपेक्षा गरिएको छ । तर, विज्ञहरु मानिसको स्ट्रिमिङ प्लाटफर्ममा चलचित्र हेर्ने बानीले चलचित्रको व्यवसायलाई पक्कै पनि असर गर्ने स्वीकार गर्छन् ।

मानिसहरु सिनेमा जानुको साटो त्यो ओटीटीमा आउनका लागि प्रतीक्षा गर्ने इमके ग्लोबलको रिपोर्टमा भनिएको छ । त्यसैले अब सिधै ओटीटी प्ल्याटफर्ममा चलचित्रहरु रिलिज गर्ने क्रम पनि बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर