उर्लाबारी क्याम्पसमा पत्रकारिता पढाइ हुने - Crazysaptahik.com

उर्लाबारी क्याम्पसमा पत्रकारिता पढाइ हुने

क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी–४ मा अवस्थित उर्लाबारी बहुमुखी क्याम्पसमा यही शैक्षिक सत्र २०७८ बाट ४ वर्षे स्नातक तह (वि.ए.)मा पत्रकारिता र सामाजिक कार्य विषय पठनपाठन सुरु हुने भएको छ ।

पूर्वाेत्तर मोरङको पुरानो र अग्रणी शिक्षा प्रदायक क्याम्पसले सोमबार क्याम्पस हातामा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले पत्रकारिता विषय पठनपाठनका लागि पहल होस् भनी क्याम्पसमा बुझाएको ज्ञापनपत्र र स्थानीय तहमा पत्रकारिता विषयमा रुचि बढ्दै गएकोले क्याम्पसमा पत्रकारिता विषयको पठन पाठन गर्ने जमर्काे गरिएको भनी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मोरङमा विराटनगर बाहिर प्रथम पटक उर्लाबारी बहुमुखी क्याम्पसमा पढाइ हुन लागेको पत्रकारिता विषयको चार वर्षे पाठ्यक्रममा त्रिविले निर्धारण गरेअनुसारको अध्ययन हुने बताइएको छ । पहिलो वर्ष मास मिडिया र सञ्चारको परिचय र पत्रकारिताको सिद्धान्त र अभ्यास विषय, दोस्रो वर्ष मिडियाको नीतिशास्त्र, कानुन र इतिहास र मिडिया अनुसन्धानका आधारहरु, तेस्रो वर्ष जनसम्पर्क र विज्ञापनको परिचय र आमसञ्चार र पत्रकारिता तथा चौथो वर्ष ऐच्छिक पत्र सहित प्रसारण पत्रकारिता, नयाँ माध्यम र अनलाइन पत्रकारिता र फोटो पत्रकारिता विषयमा पठन पाठन हुने क्याम्पस प्रमुख बेधराज भट्टराईले बताए ।

यस्तैगरी सामाजिक कार्यतर्फ पत्रि त्रिविद्वारा निर्धारित प्रथम वर्ष सामाजिक कार्यको परिचय र सामाजिक कार्यका लागि आधारभूत समाजशास्त्र विषय पढाइ हुनेछ ।

मूलतः पूर्वोत्तर मोरङसहित पूर्वी पहाडी जिल्लाका सञ्चारकर्मीको पत्रकारिता विषय पढ्ने चाहनालाई यस क्याम्पसले पूरा गर्ने उद्देश्य राखेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । सामाजिक सेवाका क्षेत्रमा प्रवेश गर्नेहरूका लागि सामाजिक कार्य विषयले थप ज्ञान र आधारशिला दिलाउने कुरा क्याम्पस सञ्चालक समिति अध्यक्ष पुष्पलाल ढकालले बताउनुभयो ।

यसैगरी सामाजिक कार्यतर्फ पनि त्रिविद्वारा निर्धारित पहिलो वर्ष सामाजिक कार्यको परिचय र सामाजिक कार्यका लागि आधारभूत समाजशास्त्र विषय पढाइ हुनेछ । बि.ए.का प्रत्येक विषयमा त्रिविले तोकेअनुसार पूर्णाङ्कको ३० प्रतिशत अङ्क प्रयोगात्मक र अन्य ७० प्रतिशतको सैद्धान्तिक परीक्षा हुने सहायक क्याम्पस प्रमुख खेमराज कार्कीले जानकारी दिनुभयो ।

सहायक क्याम्पस प्रमुख कार्कीका अनुसार पत्रकारिता विषयको प्रयोगात्मक कार्यका लागि स्थानीय सञ्चारमाध्यमसहित राष्ट्रिय स्तरका सञ्चारमाध्यममा इन्टर्नसिपको व्यवस्था मिलाइने छ भने क्याम्पसकै स्वामित्वमा प्रयोगात्मक सामग्री निर्माण एवम् खरिदका लागि पनि तत्काल पहल गरिनेछ । सामाजिक कार्य विषयको प्रयोगात्मक कार्य ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा अलगअलग रूप र प्रणालीबाट गरिने बताइन्छ । क्याम्पसका सहायक प्राध्यापक केशव निरौलाका अनुसार पत्रकारिता विषयमा स्नातक गरेको व्यक्ति सरकारी तथा निजी सञ्चार माध्यममा संवाददातादेखि लिएर प्रधान सम्पादकसम्म हुन योग्य हुन्छन् भने विदेशी सञ्चार माध्यम÷संस्थाका प्रतिनिधि, मिडियाका कानुनी सल्लाहकार, स्थानीय तहमा सूचना संयोजक, विज्ञापन एजेन्सीसहित प्रकाशन गृहमा सम्पादक र सोही विषयको प्रशिक्षकसमेत बन्न योग्य हुनेछन् ।

यस्तै स्नातक तहमा सामाजिक कार्य विषय अध्ययन गर्दा सामाजिक परिचालक, परामर्शदाता, प्रशिक्षक, सरकारी तथा गैरसरकारी संस्थाको प्रजेक्ट अफिसर आदि क्षेत्रमा योग्य हुने सहायक प्राध्यापक निरौलाको भनाइ छ । त्रिविको कार्यतालिका अनुसार फागुन १ गतेबाट बि.ए.को औपचारिक कक्षा सुरु हुने भए तापनि क्याम्पसले अनलाइन मुडल प्रणालीमार्फत माघ १४ गतेबाट नै अभिमुखीकरणसहित कक्षा सुरु गर्ने भएको छ ।

थप भएका विषयसँगै अब क्याम्पसमा बि.ए.तर्फ ऐेच्छिक समूहमा पत्रकारिता, सामाजिक कार्य, नेपाली, अङ्ग्रेजी, समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास, राजनीतिशास्त्र र इतिहास विषयहरूमध्येबाट कुनै दुई विषय छनोट गरी पढ्न पाइने भएको छ । २०४३ सालमा स्थापित यस क्याम्पसमा अहिले कक्षा ११ देखि स्नातकोत्तर तहसम्ममा १ हजार ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् भने ४० प्राध्यापक र १२ कर्मचारी कार्यरत छन् । विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्तिको प्रक्रियामा रहेको यस क्याम्पसले बर्सेनि व्यावहारिक एवम् जीवनोपयोगी शिक्षा थप गर्दै जाने प्रयत्न गरेको क्याम्पस प्रमुख भट्टराईले बताउनुभयो ।

सम्बन्धित खवर