सन् ९० को दशकको कुरा हो । अफगानिस्तानमा मुजाहिद्दीन र सरकारबीच भीषण युद्ध चलिरहेको थियो । त्यही बेला अफगान राष्ट्रपति नजिबुल्लाहकी छोरीले आफ्ना पितासँग एक दिनका लागि मुजाहिद्दीनसँग युद्धविराम गर्न आग्रह गरिन् । राष्ट्रपतिकी छोरी हिन्दी फिल्म उद्योगका सबैभन्दा ठूला स्टार आफ्नो देशमा आउन लागेकाले उनले देशको राजधानी काबुलमा घुम्न पाउँछन् र धेरैले उनलाई देख्न पाऊन् भन्ने चाहन्थिन् ।
त्यस समय अफगानिस्तान आउँदै गरेका स्टार थिए अमिताभ बच्चन । उनले अभिनय गर्न लागेको फिल्म खुदा–गवाहको सुटिङ अफगानिस्तानमा गरिन लागिएको थियो । अफगान राष्ट्रपति नजिबुल्लाह र उनकी छोरीको यो किस्सा अफगानिस्तानका लागि भारतका पूर्व राजदूतले केही वर्षअघि लद्दाखमा सुनाएका थिए । सन् १९९२ मे ८ मा रिलिज भएको खुदा–गवाहको छायाङ्कन काबुल र मजार शरीफमा गरिएको थियो । र फिल्म रिलिज भएको ३० वर्ष बितिसकेको छ ।
अफगानिस्तानको सबैभन्दा चर्चित हिन्दी फिल्म
३० वर्षअघि खुदा–गवाह अफगानिस्तानमा रिलिज हुँदा यो सो देशमा चलेका हिन्दी फिल्महरूमध्ये सबैभन्दा चर्चित फिल्म बनेको थियो । फिल्मको निर्माण क्रममा निर्माण पक्षले विभिन्न रोचक घटना अनुभव गरेको फिल्म निर्माता मनोज देसाई सम्झन्छन् ।
‘खुदा गवाह फिल्म निर्माणको क्रममा फिल्म युनिटको सुरक्षाका लागि भनेर पाँचवटा तोप अगाडि र पाँचवटा ट्याङ्क पछाडि लाग्ने गर्दथ्यो,’ देसाईले भने । ‘अफगानिस्तानमा अमिताभ बच्चन यति लोकप्रिय थिए कि तत्कालीन विद्रोही नेता बुरहानुद्दीन रब्बानीबाट आफू बच्चनको ठूलो फ्यान भएको र फिल्म युनिटलाई विद्रोही समूहबाट कुनै खतरा नभएको सन्देश पठाए । उनले सुटिङ क्षेत्रमा युद्ध स्थलगत गर्न लगाउने बताएका थिए,’ निर्माता देसाईले सम्झिए ।
एकजना भारतीय फिल्म स्टारको लागि गृहयुद्धमा रहेको देशका सरकार, मुजाहिदीन र विद्रोही सब एकजुट भएका थिए । त्यसबाहेक फिल्म युनिटलाई भारत सरकारको पनि साथ थियो । अमिताभ बच्चन र तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीबीच घनिष्ठ मित्रता थियो । राजीव गान्धीले अफगानिस्तानमा ‘खुदा–गवाह’को सुरक्षाको लागि त्यहाँको राष्ट्रपति नजिबुल्लाहसँग व्यक्तिगत रूपमा सुरक्षाको ग्यारेन्टी मागेका थिए ।
अनौठो संयोग के भयो भने फिल्मको हबिबुल्लाह नामको पात्रलाई फाँसी दिइएको दृश्य जुन स्थानमा सुटिङ भएको थियो, सोही स्थानमा राष्ट्रपति नजिबुल्लाहलाई चार वर्षपछि मुजाहिद्दिनहरुले फाँसी दिएका थिए ।